ब्ल्याक होलको अध्ययनका लागि भारतले पठायो स्याटेलाइट

सिटी पोखरा डेक्स
  • ख-
  • ख+

एजेन्सी/भारत ।

सन् २०२४ को पहिलो दिनमै भारतीय अन्तरिक्ष अनुसन्धान संस्था इसरोले इतिहास रचेको छ । भारतले सोमबार जनवरी १ मा विश्वकै दोस्रो यस्तो स्याटेलाइट प्रक्षेपण गरेको छ जसले ब्ल्याक होल, पल्सर, आकाशगंगा तथा विकिरण आदिको अध्ययन गर्नेछ । यसअघि विश्वमा पहिलोपटक अमेरिकी अन्तरिक्ष संस्था नासाले सन् २०२१ मा यस्तै स्याटेलाइट प्रक्षेपण गरेको थियो ।

हाल भारतले प्रक्षेपण गरेको स्याटेलाइटको नाम एक्सरे पोलारिमिटर स्याटेलाइट (एक्सपोस्याट) रहेको छ । यससँग भारतले अन्य विभिन्न १० वटा पे लोड (उपकरण) समेत अन्तरीक्षमा पठाएको छ ।

एक्सपोस्याटको आयु ५ वर्षको हुने बताइएको छ । भारतीय समय अनुसार सोमबार बिहान ९ बजेर १० मिनेटमा गरिएको उक्त स्याटेलाइटको प्रक्षेपण पिएसएलभी रकेट श्रृंखलाको ६०औं प्रक्षेपण हो । रोचक त के भने स्याटेलाइट प्रक्षेपणको अघिल्लो दिन वैज्ञानिकहरुले तिरुपति मन्दिरमा बैंकटेश्वरको पूजाआजा गरेका थिए ।

६५० किलोमिटरको उचाइमा तैनाथ

यो स्याटेलाइटले अन्तरिक्षमा हुने विकिरणको अध्ययन गर्नेछ । साथै यसले विकिरणका स्रोतहरुको पनि तस्वीर खिच्नेछ । रमन रिसर्च इन्स्टिच्यूटले स्याटेलाइटमा जडित टेलिस्कोप निर्माण गरेको हो ।

यो स्याटेलाइटले ब्रम्हाण्डमा सबैभन्दा धेरै चम्किने ५० वटा स्रोतहरुको अध्ययन गर्नेछ, जसमा पल्सर, ब्ल्याक होल एक्सरे बाइनरी, एक्टिभ ग्यालेक्टिक न्यूक्लियाई, नन थर्मल सुपरनोभालगायतका रहेका छन् । यो स्याटेलाइट साढे ६सय किलोमिटरको उचाइमा तैनाथ हुनेछ ।

इसरोले ७ वर्षअघि सन् २०१७ मा यो मिसनको सुरुवात गरेको थियो जसमा करिब साढे ९ करोड डलर खर्च भएको छ ।

श्रीहरिकोटाबाट प्रक्षेपण भएको करीब २२ मिनेटपछि नै एक्सपोस्याट स्याटेलाइट आफ्नो कक्षमा स्थापित भैसकेको थियो ।

यो स्याटेलाईटमा दुईवटा पेलोड रहेका छन् । जसमा पहिलो पोलिक्स र दोस्रो एक्सपेक्ट छन् । एक्सपोस्याटको लागत २५ करोड भारु रहेको बताइएको छ ।

इसरोका अनुसार यो अन्तरिक्ष मिसनले ब्ल्याक होलका बारेमा हालसम्म रहेको ज्ञानलाई बढाउनमा सहयोग गर्नेछ ।

ब्लाक होल अर्थात् कालो छिद्र भनेको अन्तरीक्षको यस्तो क्षेत्र हो जहाँ पदार्थहरु आफैमा विलिन हुन्छन् । ब्ल्याक होलको गुरुत्वाकर्षण बल यति ससक्त हुन्छ कि प्रकाश समेत त्यसबाट भाग्न सक्दैन ।

कतिपय ठूला ताराहरु विस्फोट भएर अन्त्य हुने क्रममा ब्ल्याक होलको निर्माण हुन्छ । कतिपय ब्ल्याक होलहरु इति विशाल हुन्छन् कि यिनको आकार सूर्यको भन्दा अर्बौं गुणा ठूलो हुन्छ । https://www.onlinekhabar.com/2024/01/1414601

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि citypokhara.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्