माउन्ट एभरेष्ट मोटरस्पोर्ट्स फेस्टिभलको टाइटल स्पोन्सर टोटल इनर्जीज

सिटी पोखरा डेक्स
  • ख-
  • ख+

पोखरा । नेपाल अटोमोवाइल्स एसोसिएसन (नासा) ले जनवरी ४ मा धुलिखेलस्थित हिमालयन मोटरल्यान्डमा आयोजना हुने माउन्ट एभरेष्ट मोटरस्पोर्ट्स फेस्टिभलको टाइटल स्पोन्सरका रूपमा टोटल इनर्जीजलाई चयन गरेको छ। यो सहकार्यका लागि जनवरी १ मा नासाले टोटल इनर्जीजका लागि नेपालका आधिकारिक विक्रेता लक्ष्मी ल्यूब आयल प्रा.लि.सँग सम्झौता गरेको हो।

सम्झौतापत्रमा लक्ष्मी ल्यूब आयलका सेल्स हेड सुबोध थापा र नेपाल अटोमोवाइल्स एसोसिएसनका मिडिया तथा ब्राण्डिङ कमिसन प्रमुख अंकित भण्डारीले हस्ताक्षर गरेका छन्।

सम्झौता हस्ताक्षर कार्यक्रममा सेल्स हेड सुबोध थापाले टोटल इनर्जीजले नेपालमा गुणस्तरीय सेवा र उत्पादनमार्फत आफ्नो प्रभाव जमाउँदै आएको भन्दै अब मोटरस्पोर्ट्स क्षेत्रमा समेत प्रवेश गर्न पाउँदा खुसी व्यक्त गरे। उनले २०२५ को पहिलो दिनमै नेपाली मोटरस्पोर्ट्ससँग टोटल इनर्जीजको सहकार्यले नयाँ आयाम थप्ने बताए।

त्यस्तै, अंकित भण्डारीले टोटल इनर्जीज जस्तो विश्वस्तरीय ब्राण्डको सहभागिताले नेपाली मोटरस्पोर्ट्सलाई विश्वव्यापी स्तरमा पु¥याउन योगदान पुग्ने विश्वास व्यक्त गरे।

यो फेस्टिभलमा अन्तर्राष्ट्रिय अटोमोबाइल फेडेरेसन (एफआईए), अन्तर्राष्ट्रिय मोटरसाइकल फेडेरेसन (एफआईएम), र बागमती प्रदेश खेलकुद विकास परिषद्को विशेष आर्थिक सहयोग रहनेछ। फेस्टिभलमा ६० जना ड्राइभर र ४० जना प्राविधिकहरुको सहभागिता रहने बताइएको छ।

धुलिखेलस्थित हिमालयन मोटरल्यान्डमा हुने फेस्टिभल अन्तर्गत अटोकस च्यालेन्ज, नेपाल ड्रिफ्ट जिमखाना, कार्टसमाण्डु कप, क्वाड बाइक एडभेन्चर र स्टन्ट शो गरी ५ वटा विशेष इभेन्ट हुनेछन्। यसका अतिरिक्त, जनवरी ३ मा आयोजना हुने मार्सल तालिम र इभेन्ट म्यानेजमेन्ट वर्कशपमा पनि टोटल इनर्जीजले सहयोग गर्नेछ।

 

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि citypokhara.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्