सुदूरपश्चिममा पहिलो पटक मोटरस्पोर्ट्स: धनगढी अटोर्याली र अटोक्रसको घोषणा

सिटी पोखरा डेक्स
  • ख-
  • ख+

पोखरा । सुदूरपश्चिम प्रदेशमा मोटरस्पोर्ट्सको शुरुवात गर्दै धनगढी अटोर्याली र अटोक्रस आगामी फागुन १६ र १७ मा आयोजना गरिने भएको छ। सुदूरपश्चिम प्रदेश अटोमोबाइल एसोसिएसनले धनगढीमा आयोजित प्रेसमिटमार्फत कार्यक्रमको औपचारिक घोषणा गरेको हो। अध्यक्ष पुस्कर राज ओझाले थ्रिल, एड्भेन्चर, र प्यासनको संगम मोटरस्पोर्ट्सलाई यस कार्यक्रममार्फत प्रदेशमा स्थापित गर्ने लक्ष्य रहेको बताए।

प्रेसमिटमा सुदूरपश्चिम खेलकुद परिषदका सदस्य सचिव दीपक बहादुर सिंहले मोटरस्पोर्ट्सले युवाहरूमा लोकप्रियता कमाउँदै आएको र यसले सुदूरपश्चिममा नयाँ तरङ्ग ल्याउने आशा व्यक्त गरे। साथै, प्रदेश खेलकुद परिषदले आवश्यक सहयोग गर्ने प्रतिबद्धता जनाए।

धनगढीबाट सुरु हुने अटोर्यालीमा ५० भन्दा बढी कार र जीपको सहभागिता रहनेछ। टीएसडी फर्म्याटमा आयोजना हुने यस र्यालीले धनगढीदेखि पर्शुरामधामसम्मको दूरीलाई समय, गतिको सन्तुलन, र निश्चित मार्गको आधारमा सम्पन्न गर्नेछ। प्रत्येक गाडीमा दुई सदस्यीय टोली (ड्राइभर र न्याभिगेटर) रहनेछ, र टोली दर्ता शुल्क पाँच हजार रुपैयाँ तोकिएको छ। विजेताले क्रमशः ८१ हजार, २७ हजार, र ९ हजार नगद पुरस्कार, शिल्ड, र प्रमाणपत्र प्राप्त गर्नेछन्।

त्यस्तै, चाँदनी–दोधारा पुल क्षेत्रमा अटोक्रस आयोजना गरिनेछ। यसमा अटोर्यालीका सहभागीमध्ये २० ड्राइभरलाई प्रतिस्पर्धा गर्ने अवसर प्रदान गरिनेछ। संसारकै सुन्दर मानिने चाँदनी–दोधारा पुल आसपास हुने यस इभेन्टका विजेताहरूलाई अन्तर्राष्ट्रिय सहभागिताको अवसर, शिल्ड, र प्रमाणपत्र प्रदान गरिनेछ।

आयोजकले इभेन्टका लागि मेकानिकल, मेडिकल, मिडिया, र तालिमप्राप्त मार्शलको व्यवस्था गरिएको जानकारी दिए। जुनसुकै क्षमता र डिजाइनका निजी कार तथा जीप अटोर्यालीमा समावेश गरिनेछ भने अटोक्रसमा १ हजारदेखि १६ सय सिसी क्षमताका कार मात्र सहभागी हुनेछन्।

नेपाल अटोमोबाइल्स एसोसिएसनको गाइडलाइनअनुसार दक्ष प्राविधिक र तालिमप्राप्त मार्शलहरूको सुपरिवेक्षणमा इभेन्ट सञ्चालन गरिने संघका तालिम तथा मार्शल कमिसनका सचिव आशिष रौनियारले बताए।

सुदूरपश्चिम खेलकुद परिषदका प्रमुख सहयोग रहेको यस इभेन्टमा पर्शुराम नगरपालिका, स्थानीय उद्योग वाणिज्य संघहरू, र अटोमोबाइल व्यवसायी संस्थाहरूको समेत सहकार्य रहेको छ। प्रेसमिटमा कैलाली उद्योग वाणिज्य संघका अध्यक्ष पुष्प कुँवर, संघका तालिम तथा मार्शल कमिसनका प्रमोद श्रेष्ठ, र सचिव सुमन सैंजु लगायतले पनि आफ्नो धारणा व्यक्त गरे।

 

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि citypokhara.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्