कोरियन भाषा संघ नेपालको प्रथम राष्ट्रिय भेला सम्पन्न, पाण्डेको अध्यक्षतामा नयाँ समिति चयन

सिटी पोखरा डेक्स
  • ख-
  • ख+

पोखरा । नेपालमा कोरियन भाषा सिकाउने संस्थाहरू एकीकृत भई संगठित भएका छन्। पोखरामा सम्पन्न प्रथम राष्ट्रिय भेलाले सन्तोष पाण्डेको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गर्दै कोरियन भाषा प्रशिक्षणलाई थप व्यवस्थित र प्रभावकारी बनाउने प्रतिबद्धता जनाएको छ।

भेलाले सन्तोष पाण्डेलाई अध्यक्ष चयन गरेको छ भने उपाध्यक्षहरूमा जगन्नाथ न्यौपाने, नारायण थापा (निसान्त), र सपराज राई चयन भएका छन्। त्यस्तै, सचिवको जिम्मेवारी योजेन्द्र वाग्लेले सम्हाल्ने भएका छन् भने सह-सचिवमा हरि कँडेल, उदयराम जैसी र रुद्र फुँयाल चयन भएका छन्। कोषाध्यक्ष पदमा टंक प्रसाद चयन भएका छन्।

नवनिर्वाचित कार्यसमितिको सदस्यहरूमा जयराम आचार्य, यामप्रसाद पाण्डे (आशिष), जीवन कुमारी राई, सुशील प्रसाद कुसवाहा र प्रकाश नेपाली रहेका छन्। निर्वाचन मण्डलका संयोजक रामचन्द्र लामिछानेले नवनिर्वाचित कार्यसमितिको घोषणा गरेका थिए।

नवनिर्वाचित उपाध्यक्ष नारायण थापा (निसान्त)ले कोरियन भाषा प्रशिक्षण केन्द्रहरूको क्षमता अभिवृद्धि गर्ने, प्रशिक्षकहरूको हकहितको संरक्षण गर्ने तथा सम्पूर्ण प्रणालीलाई व्यवस्थित बनाउने उद्देश्यले संघ गठन गरिएको बताए। अध्यक्ष सन्तोष पाण्डेले सबैलाई समेटेर संघलाई अगाडि बढाउने प्रतिबद्धता जनाउँदै, सबैको सुझावलाई प्राथमिकता दिने बताए।

कोरियन भाषा संघ नेपालका अनुसार हाल नेपालभर २०० भन्दा बढी कोरियन भाषा प्रशिक्षण केन्द्रहरू सञ्चालनमा छन्। संघले यी केन्द्रहरूको गुणस्तर सुधार गर्दै प्रशिक्षार्थीहरूलाई प्रभावकारी तालीम प्रदान गर्ने लक्ष्य राखेको छ।

राष्ट्रिय भेलाको उद्घाटन विश्व भाषा क्याम्पसका कोरियन भाषा विभाग प्रमुख थानेश्वर बन्जाडेले गरेका थिए। उनले कोरियन भाषा प्रशिक्षण केन्द्रहरूको योगदानको प्रशंसा गर्दै नेपाली युवाहरूको रोजगारी र अवसरलाई ध्यानमा राख्दै कोरियन भाषा सिकाइ महत्वपूर्ण भएको बताए।

कोरियन भाषा संघ नेपालले आगामी दिनमा कोरियन भाषा सिक्न चाहने विद्यार्थीहरूको हितमा कार्य गर्दै भाषा सिकाइलाई अझ व्यवस्थित बनाउन योजना अघि सारेको छ।

 

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि citypokhara.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्