
पोखरा । सुदूरपश्चिम अटोमोबाइल्स एसोसिएसनको अध्यक्षमा पुष्कर राज ओझा निर्वाचित भएका छन्। धनगढीमा सम्पन्न साधारण सभाले ओझाको नेतृत्वमा नयाँ कार्यसमिति निर्विरोध चयन गरेको हो।
सुदूरपश्चिम प्रदेश खेलकुद परिषद्का सदस्य सचिव दीपक बहादुर सिंहको उद्घाटन मन्तव्यसँगै सुरु भएको साधारण सभामा विभिन्न एजेन्डाहरू पारित गरिएका छन्। संघको उपाध्यक्षमा श्याम जोशी, सचिवमा प्रजापति जोशी, र कोषाध्यक्षमा स्मारिका बम निर्वाचित भएका छन्। त्यस्तै, सदस्य पदमा सुमन सैंजू, एलिस भण्डारी, र दीपेन्द्र राना चयन भए भने विनोद बलायरलाई सदस्यमा मनोनित गरिएको छ।
नेपाल अटोमोबाइल्स एसोसिएसनको सुदूरपश्चिम शाखाको रूपमा दर्ता भएको यो संघ विगत १६ वर्षदेखि मोटरस्पोर्ट्स, अटोमोबाइल्स मोबिलिटी, सडक सुरक्षा, र पेशागत अधिकारका क्षेत्रमा कार्यरत छ। संघ सुदूरपश्चिम प्रदेश खेलकुद परिषद्सँग आवद्ध छ।
साधारण सभाले धनगढी अटोक्रस र र्याली, मोटरसाइकल फ्ल्याट रेसिङ, टुरिङ र्याली, तथा सडक सुरक्षाका लागि युवा कार्यशालाजस्ता कार्यक्रम पारित गरेको छ। यस अवसरमा कर्णाली प्रदेश खेलकुद परिषद्का पूर्व सदस्य सचिव विश्वामित्र सञ्जेल र नेपाल अटोमोबाइल्स एसोसिएसनका ट्रेनिङ तथा मार्शल कमिसन सचिव आशिष रौनियारले नवनिर्वाचित पदाधिकारीहरूलाई बधाई दिए।
कार्यक्रममा एफआइए वर्ल्ड काउन्सिल सदस्य गोविन्द भट्टराईले राष्ट्रिय संघ र अन्तर्राष्ट्रिय महासंघहरूको क्यालेन्डरका विषयमा प्रकाश पारे। संघका पदाधिकारीहरूलाई आगामी दिनमा अटोमोबाइल्स क्षेत्रमा थप व्यावसायिक र रचनात्मक कार्यका लागि उर्जा प्रदान गर्ने कार्यक्रमहरू आयोजनामा जोड दिनुपर्नेमा सुझावसमेत दिएका थिए।
साधारण सभाको निष्कर्षसँगै सुदूरपश्चिम अटोमोबाइल्स एसोसिएसनले सडक सुरक्षाका साथै खेलकुद र अटोमोबाइल्स क्षेत्रको प्रवर्द्धनमा नयाँ कार्ययोजना अघि बढाउने विश्वास गरिएको छ।