नेपाल अटोमोबाइल्स एसोसिएसनद्वारा विभिन्न मन्त्रालयमा प्रस्तुत गरिएको सुझावपत्र

सिटी पोखरा डेक्स
  • ख-
  • ख+

पोखरा । नेपाल अटोमोबाइल्स एसोसिएसन (नासा नेपाल) ले सुरक्षित यातायात, दिगो सडक व्यवस्थापन र मोटरस्पोर्ट्सको क्षेत्रमा आफ्नो लामो अनुभव र योगदानका आधारमा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयसहित विभिन्न मन्त्रालयमा एक सुझावपत्र प्रस्तुत गरेको छ। यस पत्रमा २२ बुँदाहरू समावेश छन्, जसले नेपालको अटोमोबाइल क्षेत्रलाई आधुनिक, व्यवस्थित र सुरक्षित बनाउनका लागि आवश्यक नीति, कार्यक्रम र बजेटमा समावेश गर्न सरकारसँग अनुरोध गरेको छ।

नासा नेपालले आगामी आर्थीक वर्षको नीति निर्माणमा यी सुझावहरू समावेश गर्न आग्रह गर्दै विभिन्न यातायात सुरक्षा पहलहरू जस्तै ‘हेल्मेट फर लाइफ’, ‘सेफर भेइकल अभियान’ र ‘रोड सेफ्टी अडीट’ जस्ता कार्यक्रमहरूको सञ्चालनमा जोड दिएको छ। यसका साथै, अटोमोवाइल क्षेत्रका लागि थप संरचनात्मक सुधारहरूको आवश्यकता रहेको बताइएको छ, जस्तै इन्टरनेशनल ड्राइभिङ परमिटको कानूनी व्यवस्था, आधुनिक ड्राइभिङ स्कुलको सञ्चालन, र सडक सुरक्षा कानूनको निर्माण।

सुझावपत्रमा मुख्यत: मोटरस्पोर्ट्सका सामग्री आयातमा कर छुट, भिन्टेज गाडीहरूको संरक्षण, र सार्वजनिक यातायातमा सरकारी लगानी वृद्धि जस्ता बुँदाहरू पनि समावेश गरिएको छ। यसले नेपालको अटोमोबाइल क्षेत्रलाई दिगो र सुरक्षित बनाउन योगदान पुर्याउने विश्वास व्यक्त गरिएको छ।

नासा नेपालका अध्यक्ष, दशरथ रिसाल र एफ आइए वल्र्ड काउन्सिल सदस्य, गोविन्द भट्टराईले यस प्रस्तावको कार्यान्वयनका लागि मन्त्रालयहरूबीच समन्वय गर्न विशेष आग्रह गरेका छन्।

यस सुझावपत्रले नेपालको यातायात प्रणालीलाई व्यवस्थित र सुरक्षित बनाउन महत्वपूर्ण मार्गदर्शन पुर्याउने र दिगो विकासमा योगदान पुर्याउने आशा गरिएको छ।

 

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि citypokhara.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्