
पोखरा । बागमती प्रदेश अटोमोबाइल्स एसोसिएसनको प्रथम साधारण सभा तथा निर्वाचन चितवन उद्योग वाणिज्य संघको सभाहलमा आइतबार सम्पन्न भएको छ। मोटर स्पोर्ट्स, अटोमोबाइल, मोबिलिटी, ड्राइभ टुरिजम, मोटरसाइक्लिङ स्पोर्ट्स, पावर बोटिङ, ई–स्पोर्ट्स र रोड सेफ्टी क्षेत्रमा क्रियाशील यस संघको साधारण सभाले राजन पियाको अध्यक्षतामा १३ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ।
नवनिर्वाचित कार्यसमितिमा उपाध्यक्षद्वय राम कुमार शाही ठकुरी र सीता केसी, सचिव यज्ञ प्रसाद पौडेल, कोषाध्यक्ष जनक कुमार ढकाल तथा सदस्यहरू पियुष गजुरेल, दिपेश योगल श्रेष्ठ, लोमश अधिकारी र सुनिता रेग्मी रहेका छन्। यस्तै, कार्यसमितिले उपाध्यक्षमा राजेन्द्र प्रसाछे, सचिवमा निमेष बर्तौला र सदस्यहरूमा आरुषी थापा र विमल पौडेललाई मनोनित गरेको छ। निर्वाचन एफआईए वर्ल्ड काउन्सिल मेम्बर गोविन्द भट्टराई, चितवन अटोमोबाइल डिलर्स एसोसिएसनका सचिव कमल अधिकारी र मिडियाकर्मी एकराज सुवेदी सम्मिलित समितिले सम्पन्न गरेको थियो।
साधारण सभाको उद्घाटन नेपाल अटोमोबाइल्स एसोसिएसन (नासा नेपाल) का अध्यक्ष दशरथ रिसालले गरेका थिए। कार्यक्रममा बागमती प्रदेशका ८ जिल्लाका अटोमोबाइल व्यवसायी, खेलाडी, प्राविधिक, साहसिक र खेल पर्यटन प्रवर्धक, सडक सुरक्षा विज्ञ तथा अभियन्ताहरूको सहभागिता थियो। सभाले आगामी चार वर्षका लागि १२ बुँदे कार्ययोजना पारित गरेको छ। जसअन्तर्गत चितवन महिला मोटर–र्याली, नेपाल अटो जिमखाना, भरतपुर–सिगात्से–ल्हासा मोटर र्याली, नेसनल अटोक्रस च्याम्पियनसिप, भरतपुरमा कार्ट्स सेन्टर निर्माण, हेटौंडामा ट्रयाक निर्माणमा सहयोग, मोटरसाइकल कार्निभल, वाटर स्पोर्ट्स गेम, युथ फर रोड सेफ्टी वर्कशप, सदस्यता वृद्धि, मार्सल र ड्राइभर तालिम, राष्ट्रिय–अन्तर्राष्ट्रिय संघ–महासंघमा सहभागिता र नीतिगत सुधारका लागि मन्त्रालयहरूसँग सहकार्य गर्ने योजना समावेश छन्।
कार्यक्रममा नेपाल अटोमोबाइल्स एसोसिएसनका सचिवद्वय सन्तोष न्यौपाने र दिप्रश शाक्य, सहकोषाध्यक्ष कमला क्षेत्री, बागमती प्रदेश खेलकुद विकास परिषद्की बोर्ड सदस्य नवीना खनिया लगायतको उपस्थिति थियो। सभाले तदर्थ समितिको प्रगति प्रतिवेदन र संशोधित विधानलाई सर्वसम्मत पारित गरेको छ।
संघको आयोजनामा मार्सल ट्रेनिङ र ड्राइभर ओरिएन्टेसन सम्पन्न भएको छ भने सोमबार चितवनमा चितवन महिला मोटर–र्याली र नेपाल अटो जिमखाना प्रतिस्पर्धा हुँदैछ।