महोत्सवमा १३ लाख बढीको आलु कारोवार

सिटी पोखरा डेक्स
  • ख-
  • ख+

पोखरा। राष्ट्रिय हेमजा आलु महोत्सवको चौथों दिन सोमबारसम्ममा त्यहाँ १३ लाख बढीको आलु कारोवार भएको छ ।

महोत्सव मध्येतिर आउदाँ त्यहाँ दर्शक सहभागिता पनि बढ्दै गएको छ । शनिबार र आइतबार सार्वजनिक विदा परेको एवम् सोमबार समेत मौसम एवम् दर्शकले साथ दिएपछि पछिल्ला दिनमा त्यहाँ कारोवार हवातै बृद्धि भएको हो ।

त्यहाँ आलुको परिकारको एउटा स्टल, ३० वटा कृषि स्टल तथा अन्य सय बढी व्यापारीक स्टल छन् । प्रतिकेजी रु.३५ मा आलुको कारोवार भइरहेको छ ।

सोमबार मात्रै ५ लाख बढीको आलु बिक्री भएको आलु तथा कृषि उपज व्यवस्थापन उपसमिति संयोजक अर्जुन कार्कीले बताए । उनले हालसम्म सबैभन्दा बढी ८ सय केजी र कम्तीमा १ केजीसम्म ग्राहकले आलु खरिद गरी लगेको पनि सुनाए ।

सामान्यतथा २० देखि ३० केजीसम्म आलु किन्ने ग्राहक धेरै आउछन् । कास्कीका छिमेकी पालिका लगायत चितवन, मकवानपुर, पर्वत, बाग्लुङ, तनहुँ, लमजुङ, स्याङजा, म्यादी, मुस्ताङबाट समेत आलु खरिदका लागि मानिसहरु आउने गरेको उनको भनाई छ ।

हेमजाको निलो आलु मिठो छ, चाँडो पनि पाक्छ, अन्य स्थानको तुलनामा स्वास्थ्यकर पनि मानिने भएकाले आफूहरु आलु खरिदकै लागि आएको सोमबार दिउँसो महोत्सव स्थलमा भेटिएकी तनहुँ शुक्लागण्डकीकी रमिला सुनारले बताइन् ।

यतिवेला आलु महोत्सव स्थल विष्णुपादुका खेल मैदानका अलवा हेमजा स्थित स्थानीयका घरघरबाट समेत आलु तथा अन्य कृषि उपजको बिक्रीवितरण दर बढेको छ ।

महोत्सवमा सोमबार कलाकारहरु पुरुषोत्तम न्यौपाने, रामजी पौडेल, सरस्वती लामिछाने, कमला गैह्रे, किसन नेपाली, भूमिका पंगेनी, कृष्टिना क्षत्री, प्रकाश विक्रम राजमाझी लगायतले प्रस्तुति राखे । त्यस्तै हास्यकलाकारहरु राजेन्द्र गिरी (जादुगर गुन्दू्रके) मनोज गोर्खाली लगायतले पेटमिचीमिची हसाए ।

त्यस्तै गुरुकुल विद्यासदन मावि नयाँबजार, स्नो भ्यू बोडिङ स्कूल हेमजाले पनि प्रस्तुति देखाए ।

त्यस्तै पप कन्सर्टतर्फ देउराली, लेकाली, ब्रोसिस व्याण्ड लगायत अंकित श्रेष्ठले प्रस्तति राख्दै दर्शकलाई नचाए ।

महोत्सव अन्तर्गत मंगलबार नयाँवर्षको दिन त्यहाँ कलाकारहरु शिव हमाल, राजु ढकाल, कुमार पुन, ममता तामाङ, सुभद्रा श्रेष्ठ, भूमिका पंगेनी, प्रजिता सुनार लगायतका प्रस्तुति रहने सांस्कृतिक उपसमिति सदस्य परशुराम अधिकारीले जानकारी दिए ।

त्यस्तै महोत्सवमा सोमबार जनकल्याण आमा समूह, कमल जौंसी आमा समूह एवम् प्रगति आमा समूहले रत्यौली प्रतियोगिता अन्तर्गत आ–आफ्ना प्रस्तुति राखे ।

महोत्सव अन्तर्गत त्यहाँ आलु तथा तरकारीको प्रदर्शन, आलुको पहाड निर्माण, आलुका विभिन्न परिकार एवम् कृषि सम्बन्धी विविध सांस्कृतिक कार्यक्रम भइरहेका छन् ।

त्यस्तै कृषि झाँकी प्रतियोगिता, चर्चित कलाकारका दैनिक प्रस्तुति लगायत विभिन्न कृषि उपज विउ विजन तथा कृषि यन्त्रको प्रदर्शनी लगायतका गतिविधि पनि संचालित छन्।

सोमबारसम्ममा ४० हजार बढी दर्शकले महोत्सव अवलोकन गरेको आयोजक विष्णुपादुका क्लवका अध्यक्ष वसन्तकुमार श्रेष्ठ जानकारी दिए ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि citypokhara.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्